२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दैनिक कार्यसूचीमा बनाएर विद्युत् महसुल असुल्न ऊर्जामन्त्रीको निर्देशन, विद्युत् महसुल बक्यौता ५० अर्बमाथि

दैनिक कार्यसूचीमा बनाएर विद्युत् महसुल असुल्न ऊर्जामन्त्रीको निर्देशन, विद्युत् महसुल बक्यौता ५० अर्बमाथि

565
Shares

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत् प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिएका छन् । महसुल बक्यौता लामो समयदेखि अल्झिरहेकाले प्राधिकरणलाई चाँडो असुली गर्न ध्यान दिन ऊर्जामन्त्रीले सुझाएका हुन् ।

प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उप कार्यकारी निर्देशकहरूको छुट्टाछुट्टै बैठकमा महसुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने उनले बताए ।

मन्त्री श्रेष्ठले बैठकमा भने, ‘सञ्चालक समितिले प्रशासकीय पुनरावलोकन समितिले गठन गरिसकेको छ । अब विद्युत् महसुल, जरिवानालगायतका विवाद समितिमार्फत पुनरावलोकन गर्न सकिन्छ । अन्य विषयमा प्राधिकरणको व्यवस्थापन नियमित तरिकाबाट अगाडि बढ्नुहोस् ।’

बक्यौता असुली गर्न मन्त्रीबाट के निर्देशन आउँछ भनेर पर्खिएर बस्न नहुने समेत उनले बताए । मन्त्री श्रेष्ठका अनुसार विगतमा धेरै अध्ययन, छानबिन र निर्णयहरू भइसकेका छन् । यसमा थप निर्णयको आवश्यकता छैन । ऐन, नियममा के छ, प्रक्रिया के हो त्यही अनुसार गर्नुपर्छ । कसैलाई काखा कसैलाई पाखा नगरी प्राधिकरणको उच्च व्यवस्थापनले बक्यौता असुलीमा मन्त्रालयको निर्देशन कुर्नुभन्दा आफ्नो संयन्त्र परिचालन गर्ने तर्फ ध्यान दिनुपर्ने उनको तर्क छ ।

डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्तीलगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले कानुनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिने नहुने बताए । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा विद्युत् महसुल बक्यौता ५० अर्ब १ करोड रुपैयाँ रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij