पोखरा- नेपालमा तीव्र गतिमा बढिरहेको युवा जनशक्ति पलायनलाई रोक्न सूचना प्रविधि (IT) र कृत्रिम बुद्धिमत्ता (AI) को क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य भएको सरोकारवालाहरूले बताएका छन्। यसै सन्दर्भमा, देशकै अग्रणी प्रविधि संस्था टेक पाईला इनोभेसन्स (TechPaaila Innovations) ले पोखरामा एक विशेष समारोहका बीच आफ्नो गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको औपचारिक शुभारम्भ गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले रिबन काटेर टेक पाईलाको प्रादेशिक सुरुवात गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै मल्लले भन्नुभयो, “कृत्रिम बुद्धिमत्ता (AI) र सूचना प्रविधि नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्रमुख आधार हुन्। विश्व एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको बेला नेपालले नीतिगत सुधार, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनमा ढिलाइ गर्नु हुँदैन।”
उहाँले थप्नुभयो, “कक्षा १२ उत्तीर्ण हुनासाथ विदेशिने युवाको लर्को रोक्न नेपालमै ‘कमाउँदै, रमाउँदै र सिक्दै’ अघि बढ्ने वातावरण बनाउनुपर्छ। एआई कम्प्युट केन्द्र स्थापना गरेर युवा, विद्यार्थी र स्टार्टअपहरूलाई विश्वस्तरीय प्रविधिमा पहुँच दिन सके नेपाल दक्षिण एसियाकै डिजिटल हब बन्न सक्छ।” सो अवसरमा पूर्व अध्यक्ष मल्लले देशव्यापी रूपमा ‘स्किल-फर्स्ट’ (सीपलाई प्राथमिकता) को अवधारणा र अभियान अघि बढाएकोमा टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीको विशेष प्रशंसा समेत गर्नुभयो।
कार्यक्रम टेक पाईला इनोभेसन्सका गण्डकी प्रदेश क्षेत्रीय निर्देशकको अध्यक्षतामा सम्पन्न भएको थियो, जसले यस प्रविधि अभियानलाई प्रादेशिक स्तरमा नेतृत्व गर्ने जिम्मेवारी सम्हाल्नुभएको छ।
उद्घाटन समारोहमा, क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर (जसले बाल्यकालदेखि नै प्राविधिक सीपको आवश्यकता रहेको औंल्याउँदै क्यानको अभियानबारे चर्चा गर्नुभयो), आइसिटी लिडर जगन गुरुङ, क्यान महासंघका केन्द्रीय कार्यकारिणी सदस्यद्वय चिन्तामणि बास्तोला र खड्कबहादुर गुरुङ, तथा क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि (जीएन) पाण्डे, सफ्टवारिका कलेजका प्रिन्सिपल प्रमोद पौडेलको गरिमामय उपस्थिति थियो। कार्यक्रममा विभिन्न सूचना प्रविधि उद्यमी, नीति निर्माता, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij