पोखरा- नेपालमा तीव्र गतिमा बढिरहेको युवा जनशक्ति पलायनलाई रोक्न सूचना प्रविधि (IT) र कृत्रिम बुद्धिमत्ता (AI) को क्षेत्रमा व्यापक रोजगारी सिर्जना तथा सीप विकास अपरिहार्य भएको सरोकारवालाहरूले बताएका छन्। यसै सन्दर्भमा, देशकै अग्रणी प्रविधि संस्था टेक पाईला इनोभेसन्स (TechPaaila Innovations) ले पोखरामा एक विशेष समारोहका बीच आफ्नो गण्डकी प्रदेश स्तरीय कार्यालय तथा सेवाको औपचारिक शुभारम्भ गरेको छ।
कार्यक्रमका मुख्य वक्ता, क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेक पाईला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले ‘सर्टिफिकेट’ भन्दा ‘सीप’ (Skills-First Concept) लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
अधिकारीले भन्नुभयो, “हामीले परम्परागत शिक्षा प्रणालीबाट माथि उठेर बजारको मागअनुसारको एआई, साइबर सुरक्षा (Cybersecurity) र डाटा साइन्स (Data Science) का व्यावसायिक कोर्षहरू भित्र्याएका छौँ। एआईले कसरी काम गर्छ भन्ने बुझ्नु मात्र पर्याप्त छैन, त्यससँगै आउने साइबर जोखिम न्यूनीकरण गर्न र सुरक्षित डाटा-ड्रिभन निर्णय लिन सक्ने जनशक्ति आजको आवश्यकता हो।”
उहाँले थप्नुभयो, “नेपालको युवा प्रतिभालाई स्वदेशमै रोक्न, नवप्रवर्तनलाई बढावा दिन र डाटा सुरक्षित राख्दै उच्च मूल्यको रोजगारी सिर्जना गर्न डिजिटल अर्थतन्त्रका साथै एआई (AI) अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ।”
कार्यक्रम टेक पाईला इनोभेसन्सका गण्डकी प्रदेश क्षेत्रीय निर्देशकको अध्यक्षतामा सम्पन्न भएको थियो, जसले यस प्रविधि अभियानलाई प्रादेशिक स्तरमा नेतृत्व गर्ने जिम्मेवारी सम्हाल्नुभएको छ।
उद्घाटन समारोहमा, क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर (जसले बाल्यकालदेखि नै प्राविधिक सीपको आवश्यकता रहेको औंल्याउँदै क्यानको अभियानबारे चर्चा गर्नुभयो), आइसिटी लिडर जगन गुरुङ, क्यान महासंघका केन्द्रीय कार्यकारिणी सदस्यद्वय चिन्तामणि बास्तोला र खड्कबहादुर गुरुङ, तथा क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गुणनिधि (जीएन) पाण्डे, सफ्टवारिका कलेजका प्रिन्सिपल प्रमोद पौडेलको गरिमामय उपस्थिति थियो। कार्यक्रममा विभिन्न सूचना प्रविधि उद्यमी, नीति निर्माता, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij