२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘सिद्धार्थ गोल सेभर एकाउन्ट’, सानो बचतबाट अब ठूला सपना पूरा गर्न सकिने

‘सिद्धार्थ गोल सेभर एकाउन्ट’, सानो बचतबाट अब ठूला सपना पूरा गर्न सकिने

760
Shares

काठमाडौं – भविष्यका लक्ष्यहरूलाई योजनाबद्ध रूपमा पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यसहित सिद्धार्थ बैंकले ‘सिद्धार्थ गोल सेभर अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । यो आकर्षक बचत खाता योजना बैंकले सानो–सानो बचतमार्फत ग्राहकलाई आफ्नो आर्थिक सपना साकार पार्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
अधिकांश मानिसको चाहना राम्रो शिक्षा, आफ्नै घर, विदेश भ्रमण वा अन्य व्यक्तिगत योजनाहरू हुन्छन् । तर, ती सपना योजनाबद्ध र व्यवस्थित बचतको अभावमा अधुरै रहने गर्छन् । उसो त कमाइ मात्र ठूलो कुरा होइन, कमाइको सही सदुपयोग, नियमित बचत र आवश्यकतामा सोको प्रयोग निकै महत्त्वपूर्ण कुरा हो । यही महत्त्वलाई जोड दिँदै सिद्धार्थ बैंकले योजनाबद्ध र दीर्घकालीन सोचसहितको बचत योजना ‘गोल सेभर एकाउन्ट’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

खाताको आकर्षण र योजना

बैंकका अनुसार बचत खाता भएका सबै व्यक्तिगत ग्राहकले यो सुविधा सहजै उपयोग गर्न सक्नेछन् । ग्राहकले न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म मासिक बचत गर्न सक्ने व्यवस्था गरिएको छ ।

साथै, बचतकर्ताले बचतको अवधिलाई न्यूनतम १ वर्षदेखि १० वर्षसम्मको अवधि छनोट गर्न सक्नेछन्, जसले छोटो तथा दीर्घकालीन दुवै प्रकारका वित्तीय लक्ष्य पूरा गर्न योजना उपयोगी हुने बैंकको विश्वास छ । बैंकले प्रकाशित गरेको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर अनुसार यस बचत खातामा आकर्षक ब्याजदरसमेत प्रदान गरिन्छ । हाल बैंकको एक वर्षे मुद्दती निक्षेपमा ३.२५ प्रतिशत ब्याजदर रहेको छ ।

विशेषता/सुविधा

यस योजनाको प्रमुख आकर्षण पूर्ण डिजिटल सुविधा हो । ग्राहकले बैंक शाखामा उपस्थित नभई घरमै बसेर आफ्नै मोबाइल बैंकिङ एपमार्फत खाता खोल्न, बचत र कर्जाको अवधि निर्धारण गर्न तथा बचत व्यवस्थापन गर्न सक्नेछन् ।

योजनामा स्वचालित रिमाइन्डर, स्ट्यान्डिङ इन्स्ट्रक्सनमार्फत नियमित रकम कटौति तथा अवधि पूरा भएपछि बचत रकम स्वतः खातामा जम्मा हुने सुविधा पनि समावेश गरिएको छ । यसले ग्राहकलाई नियमित बचत गर्न थप सहज बनाउने बैंकको अपेक्षा छ ।

सेवाग्राहीले यस योजनामा सहभागी हुन अर्थात् सिद्धार्थ गोल सेभर एकाउन्ट खोल्न मोबाइल बैंकिङ एपमा लगइन गरी इजीबैंकमार्फत गोल सेभर विकल्पमा गई सहजै खाता खोल्न सक्नेछन् ।

आफ्नो गोल सेट गरी बचत गर्ने तरिका रोजेर आफ्नो विवरण पुष्टि गरेर यो खातामा तुरुन्त बचत सुरु गर्न सकिन्छ । बैंकले ‘सिद्धार्थ गोल सेभर एकाउन्ट’ लाई केवल बचत उत्पादन नभई ग्राहकको आर्थिक लक्ष्य हासिल गर्ने सहयात्रीका रूपमा प्रस्तुत गरेको जनाएको छ । सानो रकमबाट सुरु हुने नियमित बचतले भविष्यका ठूला सपना पूरा गर्न मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij