काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा स्थानीय समाजसेवी तथा युवा गायक रामकृष्ण श्रेष्ठको विशेष संयोजन तथा आयोजनामा “कलाकार तथा ज्येष्ठ नागरिक सम्मान एवं सांस्कृतिक साँझ–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। वरिष्ठ लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कला, संस्कृति, स्वास्थ्य, सञ्चार, समाजसेवा तथा उद्यमशीलताका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा समाज निर्माण, संस्कृति संरक्षण तथा सामुदायिक विकासमा जीवनभर योगदान पुर्याएका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै विभिन्न क्षेत्रबाट समाजमा सकारात्मक योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। ज्येष्ठ नागरिक सम्मानबाट यो वर्ष कागेश्वरी मनहोराका गोवद्र्धन थापा र मिना घिमिरेलाई विशेष नागरिक सम्मान गरिएको थियो ।
यसै गरि, सोही कार्यक्रममा अन्य विधाहरुमा सम्मानित हुनेहरूमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय अम्बिका गुरुङ, युवा उद्यमी नवराज थापा, सामाजिक अभियन्ता सविता नेपाल, महिला नेतृत्वकर्ता लक्ष्मी खड्का, सञ्चार तथा सामाजिक क्षेत्रमा सक्रिय राजेन्द्र लुइटेल, सामाजिक सेवामा समर्पित रीता अछामी, स्वास्थ्य सेवा व्यवसायी प्रह्लाद चौधरी, गायक प्रकाश लेप्चा, निर्देशक तथा मोडल शिवन पोख्र्रेल, स्वास्थ्य सामाजिक अभियन्ता तथा चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी, युवा उद्यमी किशन पोखरेल लगायतका व्यक्तित्वहरू रहेका थिए।कार्यक्रममा चर्चित गायक चेतन राई, गायक सपन श्रेष्ठ, डिजे युवा ,गायक कृष्ण राज भण्डारी, गायक रामकृष्ण श्रेष्ठ ,गायिका सन्तोषी कार्की लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। लोकगीत, आधुनिक गीत तथा मौलिक सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, आमा समूह, टोल विकास संस्था तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि कुमार बस्नेतले कला, संस्कृति र समाजसेवाको सम्मान गर्ने यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र ज्येष्ठ नागरिकप्रति सम्मानभाव विकास गर्न प्रेरित गर्ने बताए।
आयोजक रामकृष्ण श्रेष्ठले समाजमा योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक, सांस्कृतिक तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
स्थानीय समुदायले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै कला, संस्कृति, सामाजिक एकता र ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमको व्यवस्थापन राज श्रेष्ठ र कार्यक्रमको संयोजन सन्तोषी कार्कीले गरेका थिए ।
सोही समारोहमा गायक रामकृष्ण श्रेष्ठ र गायिका सन्तोषी कार्कीको स्वरमा रहेको नयां गीत सार्वजनिक गरिएको थियो । कार्यक्रमको संचालन सागर जोशीले गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij