काठमाडौँ -भारतको उत्तर प्रदेशको कुशीनगर पुर्याएर बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले शुक्रबार कुशीनगरमै पुगेर उद्धार गरेको हो।
प्रहरीका अनुसार नेपालका विभिन्न जिल्लाका युवायुवतीहरूलाई आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले भारत पुर्याएर बन्धक बनाएको सूचनाको आधारमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा गोप्य अपरेसन सुरु गरेको थियो।
कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।उद्धार अपरेसनलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रत्यक्ष सहयोग गरेका प्रहरीले जनाएको छ।
प्रहरीले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको छ। सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको र बन्धक बनाउने गिरोह पत्ता लगाएर पीडितहरूलाई आफन्तको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij