२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आगामी वर्ष थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

आगामी वर्ष थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

655
Shares

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाबाट थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने लक्ष्य लिएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वच्छ ऊर्जा उत्पादन तथा ऊर्जा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

बजेटअनुसार आगामी आर्थिक वर्ष जलविद्युत् आयोजनाबाट ६७० मेगावाट तथा सौर्य ऊर्जा आयोजनाबाट ३७० मेगावाट गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिनेछ।

यी आयोजना सञ्चालनमा आएपछि नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ५३५ मेगावाट पुग्ने सरकारको अनुमान छ। ऊर्जा उत्पादन वृद्धि भएसँगै आन्तरिक विद्युत् आपूर्ति सुदृढ हुने, औद्योगिक तथा व्यावसायिक क्षेत्रमा विद्युत् उपलब्धता बढ्ने तथा ऊर्जा निर्यातको सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ।

सरकारले स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा लगानी बढाउँदै जलविद्युत् र सौर्य ऊर्जालाई ऊर्जा विकासको प्रमुख आधारका रूपमा अघि बढाएको जनाएको छ। विद्युत् उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विस्तारमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र निर्यात क्षमता अभिवृद्धि गर्ने लक्ष्य बजेटले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij