काठमाडौं – नेपाली नागरिकले अब श्रीलंका भ्रमण गर्दा निःशुल्क पर्यटकीय भिसा पाउने भएका छन्। काठमाडौँस्थित श्रीलंकाली दूतावासले एक विज्ञप्ति जारी गर्दै श्रीलंका सरकारले नेपालसहित ४० देशका नागरिकका लागि निःशुल्क पर्यटकीय भिसा अर्थात् इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (इटीए) को व्यवस्था गरेको जानकारी दिएको छ।
यो नयाँ नियम सन् २०२६ मे २५ देखि नै लागू भइसकेको छ। यस व्यवस्था अन्तर्गत पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकहरूले ३० दिनको ‘डबल–इन्ट्री’ पर्यटकीय भिसा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्। श्रीलंका भ्रमण गर्ने यात्रीहरूलाई त्यहाँ पुग्नु अगावै आधिकारिक वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यु डटइटीए डटगभ डटएलके मार्फत वा काठमाडौँस्थित श्रीलंकाली दूतावासमा सम्पर्क गरेर अनलाइन भिसा लिन दूतावासले आग्रह गरेको छ। श्रीलंका सरकारको यस कदमले दुई देशबीचको पर्यटन विकास र आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij