काठमाडौं- सिद्धार्थ बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यूडब्लुएस नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।
बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य उनीहरूले हासिल गर्ने ज्ञान र सिपमा निर्भर हुने मान्यताको साथ बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले इन्टरएक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो ।
यस प्रविधिमैत्री कार्यबाट १२ सामुदायिक विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त प्रविधिले कक्षा कोठाको शिक्षणलाई दृष्यात्मक र अन्तर्क्रियात्मक बनाउनुका साथै पाठ्यवस्तु बुझ्न अझ सजिलो बनाउँदै भिडियो, चित्र तथा डिजिटल सामग्रीको प्रयोगबाट विद्यार्थीले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने भएकाले सिकाइ प्रक्रिया अझ रोचक र प्रभावकारी हुने बैंकको विश्वास छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कायलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij