काठमाडौँ – नेपाल तयारी पोशाक उद्योग संघद्वारा यही मिति २०८३ जेठ ११ गते (२५ मे २०२६) मा काठमाडौँमा “Inauguration and Interaction program on RMG sector and Nepal -Romania Business Forum” विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल र रोमानियाबिच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा निजी क्षेत्रबिचको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले नेपाल तयारी पोशाक संघ र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ रोमानियाबिच सन् २०२३ अगस्ट २७ मा सम्पन्न सहकार्य प्रोटोकलले दुई देशबिच व्यापार, लगानी, पूर्वाधार विकास, सीप विकास तालिम, सूचना प्रविधि, ई-कमर्स तथा बीटुबी (B2B) र बीटुसी (B2C) व्यापारिक सम्बन्ध विस्तारका नयाँ सम्भावना सिर्जना गरेको बताए ।
उनले आर्थिक वर्ष २०२४/२५ मा नेपालबाट रोमानियातर्फ करिब १.१७ मिलियन अमेरिकी डलर बराबरको निर्यात भएको तथा रोमानियाबाट नेपालमा करिब ६९० हजार अमेरिकी डलर बराबरको आयात भएको जानकारी दिए । विशेषगरी तयारी पोशाक नेपालबाट रोमानियामा निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको उनले उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबिच व्यापार तथा लगानी सहकार्यको ठいうलो सम्भावना रहेको उल्लेख गर्दै नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटीजन्य वस्तु, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए । उनले रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारको रूपमा उल्लेख गर्दै पूर्वाधार, जलविद्युत्, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन नेपाल तयार रहेको धारणा राखे ।
साथै, सुरक्षित र व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई लाभ पुग्ने विचार उनले व्यक्त गरे। कार्यक्रममा भारत, नेपाल तथा बङ्गलादेशका लागि रोमानियाका राजदूत महामहिम सेना लतिफ (Sena Latif) ले नेपाल-रोमानिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा रोमानियामा कार्यरत ठुलो सङ्ख्यामा रहेका नेपाली समुदायको योगदानबारे प्रकाश पारेका थिए। त्यसै गरी आर्थिक कन्सुलर इओनुत भिजिरु (Ionuț Viziru) ले रोमानिया तथा त्यहाँका आर्थिक एवं विकासका सम्भावनाबारे प्रस्तुति दिएका थिए ।
नेपाल-रोमानिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष बबिता पाण्डेले नेपाल-रोमानिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले दुई देशका व्यावसायिक समुदायबिच दीर्घकालीन सहकार्य, लगानी संवाद तथा पारस्परिक हितका अवसर विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।
त्यस्तै चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ रोमानियाका प्रतिनिधि निकोलेटा इओआना चिउफुडियन (Nicoleta Ioana Ciufudean) ले दुई देशका चेम्बरको सहकार्यप्रति आभार व्यक्त गर्दै उद्यमशीलता, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनमा संयुक्त सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्। कार्यक्रममा नेपाल र रोमानियाका विषयमा भिडियो प्रस्तुतिसमेत प्रदर्शन गरिएको थियो भने अन्त्यमा संघका प्रथम उपाध्यक्ष वसन्त राज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij