काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेपालको बैंकिङ क्षेत्र आन्दोलित बनेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वैशाख ३० गते पाण्डेलाई नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघ ले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
संयुक्त विज्ञप्तिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ ले बैंक तथा वित्तीय संस्थालाई कर्जा असुलीका लागि विशेष अधिकार दिएको उल्लेख गर्दै सोही कानुनी व्यवस्था कार्यान्वयन गर्नु प्रमुख कार्यकारी अधिकृतको दायित्वभित्र पर्ने बताइएको छ । नियमित तथा कानुनी कर्जा असुली प्रक्रियालाई आधार बनाएर बैंक नेतृत्वलाई पक्राउ गरिनुले समग्र वित्तीय क्षेत्रको स्थायित्व र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी संघहरूले दिएका छन् ।
संघहरूले बैंक तथा वित्तीय संस्थाहरू आम सर्वसाधारणको निक्षेप परिचालन गर्दै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै यस्ता घटनाले संस्थागत साखमा नकारात्मक असर पर्ने बताएका छन् ।
विज्ञप्तिमा ‘पहिले सुन अनि थुन’ भन्ने न्यायिक सिद्धान्तविपरीत सीधै हिरासतमा लिइनुले सीईओजस्तो गरिमामय पदको मानमर्दन भएको उल्लेख गरिएको छ । अनुसन्धान आवश्यक भए पनि पाण्डेलाई थुनाबाहिरै राखेर प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग बैंकर्स संघहरूले आग्रह गरेका छन् ।
उक्त घटनाले नेपालको बैंकिङ क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको तथा दीर्घकालीन रूपमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्न सक्ने संकेत बैंकिङ क्षेत्रले गरेको छ ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)