२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्मार्ट टेलिकमको सम्पत्ती लिलामी कानुन अनुसारः नेपाल मेगा इन्भेष्टमेन्ट बैंक

स्मार्ट टेलिकमको सम्पत्ती लिलामी कानुन अनुसारः नेपाल मेगा इन्भेष्टमेन्ट बैंक

1.4K
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि ध्यनाकर्षण भएको विज्ञप्ति जारी गरेको छ।

बैंकले आज एक विज्ञप्ति जारी गर्दै ध्यनाकर्षण भएको जनाएको छ। ‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आज प्रेस विज्ञप्तिअनुसार यस बैंकका सीईओ पाण्डेलाई ऋणी स्मार्ट टेलिकमकोे सम्पत्ति लिलाम बिक्री गरेको आरोप तथा लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरणलगायतका सामग्री जडान भएका घरजग्गा धनीहरुलाई स्मार्ट टेलिकमले बुझाउन पर्ने बाँकी घर वाहाल र विद्युत महशुल हालसम्म भुक्तान नभएको सम्बन्धमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सन्दर्भमा विभिन्न सञ्चार माध्ययममा प्रकाशित सामग्रीप्रति बैंकको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने प्रचलित ऐन–कानुन तथा विशेषगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ एवं सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकार तथा यस बैंकको कर्जा असुली निर्देशिकाको पूर्ण रुपमा पालना गर्दै निक्षेपकर्ताहरुको निक्षेपबाट प्रवाह भएको कर्जा असुली गर्नुपर्ने कानुनी दायित्व तथा जिम्मेवारीअन्तर्गत रही बैंकले कर्जा असुली प्रक्रियाअनुसार उक्त कारबाही अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

यस सम्बन्धमा सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग अनुसन्धान प्रयोजनका लागि बैंकले समयमै उपलब्ध गराउँदै आएको पनि बैंकले जनाएको छ। आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले गरेको छ।

बैंकले मिति २०८२ असोज ३ गतेमा ऋणी स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरणलगायतका सामग्री लिलामीको सूचना प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सोही सूचनाबमोजिम लिलाम बिक्री भई प्राप्त भएको कुल ४ अर्ब ६० करोड रुपैयाँबाट ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरणको कर्जा सुविधा चुक्ता भुक्तान भई सम्बन्धित निकायबाट खाता रोक्का रहेको कारणले बाँकी रकम ३८ करोड बैंकको अर्नेस्ट मनी अक्सन अकाउन्टमा बाँकी रहेकोे छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त रकम दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरणलगायत सामग्री जडान भएका घरजग्गा धनीलाई उक्त ऋणीले तिर्न बाँकी बहाल, विद्युत महसुललगायतका रकम भुक्तानी गर्नेे प्रयोजनका लागि रोक्का गरिएको हो।’

उक्त रकम सम्बन्धित निकायबाट प्रमाणसहित भुक्तानीका लागि अनुरोध आएपश्चात सोहीअनुरुप क्रमिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij