२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने

895
Shares

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भू-भागमा रातिको समयमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार सोमबार राति यी तीन प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने र अन्य भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा पर्न सक्ने अनुमान गरिएको छ।

यसअघि दिउँसो बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम र कालिकोट आसपासका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम स्तरको वर्षा भएको जनाइएको छ।

उक्त वर्षा प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको भन्दै महाशाखाले दैलेख, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, रोल्पा र डोल्पा आसपासका क्षेत्रमा केही समयका लागि मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै सतर्क रहन आग्रह गरेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव सक्रिय रहेको बताइएको छ।

महाशाखाका अनुसार भोलि मंगलबार र पर्सि बुधबार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य हिमाली र पहाडी भू-भागमा समेत मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij