काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुन लागेको महासंघ निर्वाचन कमिटीले जानकारी गराएको छ।
महासंघको नयाँ कार्यकारिणी समितिको चुनावका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा हुँदै छ। महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित एक समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।
भावी अध्यक्ष श्रेष्ठको साथ भएको अर्को समूहले वरिष्ठ उपाध्यक्ष अझै औपचारिक रूपमा घोषणा गरिसकेको छैन। श्रेष्ठको प्यानल भनेर सार्वजनिक भएको उक्त समूहले वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ।
उनको प्यानलमा वस्तुगत महासंघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारमा कृष्णप्रसाद अवला र विश्वनाथ खनाल छन्। यस्तै वस्तुगत संघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारहरू पनि सो समूहले सार्वजनिक गरेको छ। उक्त समूहतर्फ एसोसिएट उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डे छन्। यो समूहबाट जिल्ला/नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा (सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही) र दिलसुन्दर श्रेष्ठ (धुलिखेल उद्योग वाणिज्य संघ) ले उम्मेदवारी दर्ता गराएका छन्।
ढकालको प्यानलमा जिल्ला/नगर उद्योग, वाणिज्य समूहतर्फको उपाध्यक्षमा उमेश डालमिया (झापा उद्योग वाणिज्य संघ) र कल्पना गैरे (दार्चुला उद्योग वाणिज्य संघ) उमेदवार छन्। जिल्ला नगर समूहबाट दुईजना उपाध्यक्ष निर्वाचित हुन्छन्।
ढकाल प्यानलबाट वस्तुगततर्फको उम्मेदवार उपाध्यक्ष नरेशलाल श्रेष्ठ छन्। एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवार ज्योत्सना श्रेष्ठ रहेकी छन्। वस्तुगत समूहलाई प्रतिनिधित्व हुने गरी नरेशलाल श्रेष्ठको प्यानलमा वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्य समेतका लागि उम्मेदवारी परिसकेको छ। ढकाल समूहको एसोसिएट उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठ प्यानलको तर्फबाट पनि कार्यकारिणी सदस्यमा उम्मेदवारी परेको छ।
महासंघको नयाँ कार्यकारिणी समितिका लागि ७३ ओटा पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। आज बिहान ८ बजेदेखि साझ ४ बजे मतदान समय तोकिएको छ। कमलादीस्थित प्रज्ञा भवनमा मतदान सकिएसँगै मतगणना हुने जानकारी गराइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij