२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नासा सेक्युरिटिजद्वारा ‘आफ्टर मार्केट अर्डर’ सुविधा ‘नासा एक्स’ मा सुरु

नासा सेक्युरिटिजद्वारा ‘आफ्टर मार्केट अर्डर’ सुविधा ‘नासा एक्स’ मा सुरु

1.3K
Shares

काठमाडौं – नेपालको अग्रणी स्टक ब्रोकरेज कम्पनी नासा सेक्युरिटिज प्रा.लि.ले आफ्ना ग्राहकहरूका लागि ‘नासा एक्स’ वेब प्लेटफर्ममार्फत नयाँ ‘आफ्टर मार्केट अर्डर (एएमओ)’ सुविधा सुरु गरेको घोषणा गरेको छ ।

यस नवीन सुविधामार्फत ग्राहकहरूले नियमित कारोबार समयबाहेक पनि सेयर किन्ने तथा बेच्ने अर्डर राख्न सक्नेछन्, जसले लगानीकर्तालाई थप लचकता र सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार समय बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म (नेपाली समय) सञ्चालन हुने गर्दछ । आफ्टर मार्केट अर्डर सुविधा सुरु भएसँगै अब नासा सेक्युरिटिजका ग्राहकहरूले दिउँसो ३:०० बजेपछि र बिहान ११:०० बजे अघि अर्थात नियमित बजार समयभन्दा बाहिर पनि अर्डर राख्न सक्नेछन् ।

यस्ता अर्डरहरू अर्को कारोबार दिन बजार खुल्ने समयमा प्रचलित बजार अवस्थाअनुसार स्वचालित रूपमा कार्यान्वयन हुनेछन् ।

यो सुविधा विशेषरूपमा कसका लागि उपयोगी हुन्छ भन्ने जानकारी पनि कम्पनीले दिएको छ ।

कम्पनीका अनुसार विभिन्न समय क्षेत्र (टाइम जोन) मा रहेका विदेशस्थित नेपाली नागरिकहरू, कारोबार समयमै समय निकाल्न नसक्ने कामकाजी पेशाकर्मीहरूका लागि यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ । त्यस्तै, दिनभर व्यस्त रहने व्यवसायी तथा अन्य व्यक्तिहरूका लागि पनि यो उपयोगी हुने जनाइएको छ ।

आफ्टर मार्केट सुविधाको सुरुआतले नेपालको पुँजीबजारलाई थप सुलभ, समावेशी र पहुँचयोग्य बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको जनाइएको छ ।

यसले लगानीकर्तालाई समयको सीमाबिना सक्रिय रूपमा बजारमा सहभागिता जनाउन सक्षम बनाउनेछ । हाल यो सुविधा नासा एक्स वेब संस्करणमा उपलब्ध रहेको छ भने भविष्यमा यसलाई मोबाइल एप्लिकेसनमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

उक्त सुविधा कार्यान्वयन गर्नुअघि नासा सेक्युरिटिजले नेपाल धितोपत्र बोर्ड (सेबोन) तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायत सम्बन्धित नियामक निकायबाट गत साता स्वीकृति प्राप्त गरेको थियो ।

यसबारे नासा सेक्युरिटिजले भनेको छ, “हामी आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै निरन्तर नवीन सेवा र सुविधा विकास गर्दै आएका छौँ । आफ्टर मार्केट अर्डर सुविधा ग्राहकहरूलाई थप लचकता र सहजता प्रदान गर्ने उद्देश्यले ल्याइएको हो, जसले समयको सीमाका कारण कुनै पनि लगानी अवसर गुम्न नदिने सुनिश्चितता गर्नेछ ।”

नासा सेक्युरिटिजले नेपालमा प्रविधि र नवप्रवर्तनको माध्यमबाट प्रभावकारी, प्रयोगमैत्री तथा ग्राहक केन्द्रित ब्रोकरेज सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij