२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

1.1K
Shares

काठमाडौं – नेपाल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) तहमा भर्ना भएका विद्यार्थीहरूका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एमडी/एमएम/एमडीएस/एमएस्सी नर्सिङ संकायका विद्यार्थीहरूलाई उत्प्रेरणामूलक अभिमुखीकरण प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले चिकित्सा शिक्षामा सफल हुन अनुशासनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्नातकोत्तर अध्ययनका तीन वर्षले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने बताउनु भयाे । उनले कडा मेहनत, लगनशीलता र विनम्रता राम्रो चिकित्सकका मुख्य गुण भएको उल्लेख गर्दै बिरामीसँगको व्यवहारले नै चिकित्सकको सफलता मापन हुने जिकीर गर्नुभयाे । साथै, सकारात्मक सोचका साथ अध्ययन गर्न र अनावश्यक आलोचनाबाट टाढा रहन उहाँले विद्यार्थीहरूलाई सुझाव दिनुभयाे ।

आफ्नो ५० वर्षअघिको भारतमा गरिएको स्नातकोत्तर अध्ययनको अनुभव स्मरण गर्दै अध्यक्ष अन्सारीले अहिले नेपालमै उच्च शिक्षा हासिल गर्ने अवसर उपलब्ध हुनु चिकित्सा शिक्षाको महत्वपूर्ण प्रगति भएको जनाउनु भयाे ।

त्यस्तै, कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले स्नातकोत्तर तहको तीन वर्ष सिकाइको अत्यन्त महत्वपूर्ण समय भएको बताउँदै यस अवधिमा भएका गल्तीहरू सिकाइको हिस्सा हुने तर, व्यावसायिक जीवनमा त्यस्ता गल्ती अस्वीकार्य हुने स्पष्ट पार्नु भयाे । उहाँले विद्यार्थीहरूले बिरामी, शिक्षक र सहकर्मीबाट निरन्तर सिक्नुपर्नेमा जोड दिँदै विद्यार्थीकाे सिकाइका लागि कलेज सदैव सकारात्मक रहने बताउनु भयाे ।

कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, प्राचार्य प्रा.डा. मोदनाथ मरहठ्ठा तथा अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी तीन वर्षमा आफ्नो क्षमता र दक्षता अभिवृद्धि गरी विशेषज्ञ चिकित्सक बन्न लगनशीलतापूर्वक अध्ययन गर्न आग्रह गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij