काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो ।
शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल किसिमका एक जना बिरामीलाई काठमाडौँको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ। शिविरमा लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए ।
सिन्जा गाउँपालिका-५ की सम्झना रोकायाको शिविरमा आउँदा जलनका कारण उनको हात नचल्ने अवस्थामा थियो । शल्यक्रियापछि अब हात सिधा भएको र घर खेतको काम आफै गर्नसक्ने विश्वास पलाएको रोकायाले बताइन् । ‘अब अरु कसैको भर पर्नु पर्दैन र आफैले सबै काम गर्न सक्ने भएकी छु भन्ने लागेको छ, मलाई उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन् ।
नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) मनोजकुमार ज्ञवालीले भने । उनले आगामी दिनमा लुम्बिनी र मधेश प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए।
फेक्ट नेपालको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई सहितका विशेषज्ञ चिकित्सकको टोलीले कर्णाली प्रदेशका जलनका बिरामीहरु लक्षित शिविरमा शल्यक्रिया गरेका हुन् ।
जलन उपचार शिविर सञ्चालन गर्नु अघि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखिएको थियो । स्क्रिनिङ क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर प्रारम्भिक बिरामीहरुको विवरण लिएका थिए ।
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. गणेश थापाले कर्णाली प्रदेशमा धेरै मानिसहरु अझै पनि उचित उपचार नपाएर बसिरहेको अवस्थामा शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा राखे ।
बैंकले यसअघि सुदुरपश्चिममा नि:शुल्क जलन शिविर सञ्चालन गरेको थियो । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीहरुले निःशुल्क उपचार पाएका थिए ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ। नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij