२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

नयाँ वर्षमा बाह्र हजार बढीले गरे मुक्तिनाथको दर्शन

610
Shares

काठमाडौँ – नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् ।

सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति-समृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी पर्यटकले मुक्तिनाथ मन्दिरमा श्रद्धापूर्वक दर्शन गरेको मुक्तिनाथ विकास समितिले जनाएको छ ।

हिउँदयामपछि चलायमान भएको मुक्तिनाथ मन्दिरमा औसत दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा मुक्तिनाथ मन्दिरको दर्शन गर्ने गरिएकामा आज मुक्तिनाथ मन्दिरमा साबिकभन्दा दोब्बर धार्मिक तीर्थालुले दर्शन गरेको समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। नयाँ वर्ष भएकाले दिउँसो २ बजेपछि पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीडले परिसर खचाखच भरिएको उनको भनाइ छ ।

यसैगरी नयाँ वर्षको उपलक्ष्यमा उल्लेख्य सङ्ख्यामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी र स्थानीय नागरिक पनि मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए ।

मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थको समस्या देखिए पनि टाढा टाढाबाट दर्शनार्थी झत्तजन मुक्तिनाथको दर्शन गर्न आइपुगेको व्यवस्थापक भुसालको भनाइ छ । योसमय मुक्तिनाथ दर्शन गर्ने अनुकूल मौसम भएकाले मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको हो ।

आज बिहान ६ बजेदेखि मुक्तिनाथमा दर्शनार्थी व्यापक चहलपहल देखिएको हो । दर्शनार्थीको व्यापक उपस्थितिले मन्दिर परिसर र १०८ धारालगायतका स्थान पुरै दर्शनार्थीले भरिएको थियो । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथको दर्शन गर्नाले वर्षभरीनै राम्रो हुने भएकाले भक्तजन मुक्तिनाथ मन्दिरको दर्शन गर्न ओइरिएका हुन् ।

मन्दिरमा व्यापक मात्रामा दर्शनार्थीले भरिएपछि समितिले भक्तजनलाई लाइनबद्ध हुने गरी मन्दिरको दर्शन कार्यमा सहजीकरण गरेको थियो । नयाँ वर्षमा मुक्तिनाथ दर्शन गर्न आएका सवारी साधनले मुक्तिनाथस्थित रानीपौवाका दुई वटा बसपार्क पुरै सवारी साधनले भरिएर सवारी पार्किङमा समस्या भएको थियो । योसँगै मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकका कारण मुस्ताङको जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा दर्शनार्थीको चहलपहल बाक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij