काठमाडौँ – याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीको आईपीओमा अब २०८३ बैशाख ७ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
स्थानिय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij