२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन् २०२६ को मार्चमा भित्रिए १ लाख २० हजारभन्दा बढी पर्यटक

सन् २०२६ को मार्चमा भित्रिए १ लाख २० हजारभन्दा बढी पर्यटक

620
Shares

काठमाडौं- सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ।

तथ्यांकअनुसार मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्। जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन्।

श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ।

त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ। चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन्। जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ। समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो।

युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेखय वृद्धि नभए पनि स्थिर देखिएको छ। पश्‍चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ।

यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ।

फेब्रुअरीमा एक लाख ५ हजार ४४१ पर्यटक भित्रिएका थिए। मार्च–अप्रिललाई मौसम, ट्रेकिङ सिजनलगायतका कुराले आगमन वृद्धि हुने महिनाको रुपमा हेरिन्छ। तर, यस वर्षको मुख्य सिजनमा नै पश्‍चिम एसियामा चर्किँदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरुले जारी गरेको ‘ट्राभल एड्‌भाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन।

विशेषगरी यो सिजनमा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij