२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोल्छा ग्रुपद्वारा बाल अस्पताललाई ५ करोड आर्थिक सहयोग

गोल्छा ग्रुपद्वारा बाल अस्पताललाई ५ करोड आर्थिक सहयोग

930
Shares

नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक सहयोग प्रदान गरेको छ।
बुधबार एक कार्यक्रमका बीच बालबालिकाहरूका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरेको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोगको सम्झौता भएको हो।

आर्थिक सहयोग हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने, “सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने यो अभियानमा जोडिन पाउँदा गर्व महसुस गरेको छु, हाम्रो फाउन्डेसनद्वारा गरिने सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि किओचसँग पनि सहकार्य शुभारम्भ भएकोमा हर्षित पनि छौँ र यो सहकार्य भविष्यमा पनि निरन्तर रहनेछ, यसका साथै बाल अस्पतालमार्फत बालबालिकाहरूको सहज उपचार र गुणस्तरीय स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वाससमेत छ।”

त्यस्तै सहयोग रकम बुझ्दै किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले भने, “यस अभियानमा गोल्छा ग्रुपको साथ र सहयोगका निम्ति आभार व्यक्त गर्दछु, यस सहयोगबाट हजारौँ बालबालिकाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र सातै प्रदेशमा भइरहेको बाल अस्पताल निर्माणमा पनि धेरै ठूलो सहयोग पुग्ने विश्वास लिएको छु।”

सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने गुरुयोजना अन्तर्गत अहिले कोशी प्रदेशको दमक र बागमती प्रदेशको काठमाडौंमा अस्पताल सञ्चालन भएको छ। देशभरका बालबालिकाहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले किओचको स्थापना भएको हो।

गोल्छा ग्रुप नेपालको सबैभन्दा पुरानो र अग्रणी व्यावसायिक समूहमध्ये एक हो । यसले नेपालमा औद्योगिकीकरणको सुरुवात गर्दै देशको पहिलो उद्योग स्थापना गर्ने गौरवपूर्ण इतिहास बोकेको छ। बीस हजारभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरिरहेको गोल्छा ग्रुप सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरूमा पनि उक्तिकै अग्रसर रहेको छ।

टिच फर नेपाल, डिसेबल्ड(Disabled) न्युलाइफ सेन्टर, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, श्री सरस्वती माध्यमिक विद्यालय रामग्राम-१२ नवलपरासी र नेपाल एम्बुलेन्स सर्भिस लगायतका संस्थाहरूसँग दशकौंदेखि सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij