काठमाडौँ -पूर्वाधार विकास बैंकलाई आफ्नो कर्जा खरिद, पुन:खरिद तथा बिक्री सञ्चालन गर्ने समय सीमा थप गरिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अब बैंकले २०८५ असार मसान्तसम्म कर्जा खरिद र बिक्री गर्न सक्नेछ।
यसअघि पूर्वाधार विकास बैंकले कारोबार सुरु गरेको चार वर्षसम्म मात्र कर्जा खरिद–बिक्री गर्न पाउने व्यवस्था रहेको थियो। नयाँ संशोधनअनुसार बैंकहरूले एकआपसमा मात्र कर्जा खरिद, बिक्री, पुन:खरिद र टेकओभर गर्न सक्नेछन्। त्यस्तै, वाणिज्य बैंकहरूले प्रवाह गरेका पूर्वाधार परियोजनासम्बन्धी कर्जा पनि खरिद बिक्री गर्न सकिने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकका अनुसार कर्जा खरिद–बिक्री गर्दा तोकिएका सर्तहरू पालना गर्नु अनिवार्य हुनेछ। बैंकले अघिल्लो त्रैमाससम्म कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्रै खरिद बिक्री गर्न सक्नेछ। यो सुविधा २०८५ असार मसान्तपछि स्वतः समाप्त हुनेछ।
पूर्वाधार विकास बैंकले न्यूनतम ३० करोड रुपैयाँभन्दा बढीको कर्जा खरिद बिक्री गर्न सक्ने र आफ्नो कर्जा नीतिमा स्पष्ट व्यवस्था राख्नुपर्ने पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij