२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीराम ग्यास उद्योगलाई विभागले गऱ्यो ३ लाख जरिवाना

श्रीराम ग्यास उद्योगलाई विभागले गऱ्यो ३ लाख जरिवाना

770
Shares

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृत्रिम अभाव सिर्जना गरेको भन्दै श्रीराम ग्यास उद्योग प्रालिलाई तीन लाख रूपैयाँ जरिवाना गरेको छ।

विभागले सोमबार गरेको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित गोदाममा भण्डारण गरेर राखिएका १४.२ केजी तौलका ६ हजार ३ सय ६७ वटा ग्यास सिलिन्डर फेला पारेको जनाएको छ।

ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले ग्यास जमाखोरी गरिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ (ख) र (छ) विपरीत काम गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा १ (ख) बमोजिम उद्योगलाई तीन लाख रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

विभागले मौज्दातमा रहेको ग्यास सिलिन्डर नेपाल आयल निगमसँग समन्वय गरी रोकिएको अवस्थामा बिक्री–वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ।

विभागले सोमबार २१ वटा कम्पनीमा अनुगमन गरेको थियो। त्यसमध्ये श्रीराम ग्यास उद्योग बाहेक थप दुई कम्पनीलाई पनि जरिवाना गरेको छ।

काठमाडौं महानगरपालिका–२९, मैतीदेवीस्थित बडी मालिका खाद्य भण्डारलाई १५ हजार रूपैयाँ र कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित दुबाडी स्टोर एन्ड फल ट्रेडलाई पाँच हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

त्यसैगरी, अन्य कम्पनीलाई पनि सामान्य निर्देशन दिनुका साथै उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक कागजात राख्न, मूल्यसूची स्पष्ट राख्न तथा उपभोक्ता हितविपरीत हुने गतिविधि नगर्न सचेत गराइएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij