२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपर ठूलोखोला जलविद्युतद्वारा उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडियो

अपर ठूलोखोला जलविद्युतद्वारा उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडियो

570
Shares

म्याग्दी- बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ ।

रघुगंगा गाउँपालिका-७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६:०० बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए।

“नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो”, उनले भने, “परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।”

हालको सुक्खायाममा १३.८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए। बाँध, विद्युत् गृह, पाइप लाइन, प्रसारण लाइन र विद्युत् गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो ।

विसं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत् गृह निर्माण भएको छ । दुईवटा युनिट (टर्वाइन) रहेको विद्युत् गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए।

यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ ।

रु पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ ।

बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख–जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युत् गृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।

राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मंगले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।

राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij