२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

745
Shares

मध्यविन्दु (नवलपरासी) – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका-२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् ।

त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार छ जना घाइते भएका छन् । प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका-४ का बस चालक शंकर विष्ट, रामेछाप मन्थली नगरपालिका-१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका-४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते छन् ।

घाइते भएका सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij