२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडे

सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडे

835
Shares

काठमाडौँ – बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ-आफ्नो गृह जिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम बढेको हो ।

ट्राफिक प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेको जानकारी दिए ।

“निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबारसम्म जारी रहनेछ,” उनले भने, “सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ ।”

यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ । शाहका अनुसार यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएको छ ।

“सवारीसाधनको चाप बढी हुने क्षेत्रमा अतिरिक्त ट्राफिक प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार सवारीसाधनको चाप व्यवस्थापनका लागि नजिकका प्रहरी इकाइसँग समन्वय गरी निगरानी बढाइएको छ,” ट्राफिक प्रहरी नायब उपरीक्षक शाहले भने, “निर्वाचन सुरक्षामा खटिएको प्रहरी टोलीले समेत यातायात व्यवस्थापनमा आवश्यक सहयोग गरिरहेको छ ।”

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई सुरक्षित र संयमित यात्रा गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ । साथै, लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था जाँच गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij