तनहुँ — ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बन्दीपुरलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अझ आकर्षक गन्तव्य बनाउने उद्देश्यसहित बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडले विविध पर्यटन गतिविधिको प्रवर्द्धनलाई तीव्रता दिएको छ। केवलकार सेवासँगै स्थानीय परिकार, तथा विभिन्न साहसिक खेलकुद कार्यक्रम सञ्चालन गर्दै बन्दीपुरलाई अनुभव–आधारित पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
केवलकार सञ्चालनपछि बन्दीपुरमा पर्यटकको आवागमन उल्लेखनीय रूपमा बढ्दै गएको छ। सहज, सुरक्षित र समय बचत हुने यात्राका कारण अब सबै उमेर समूहका पर्यटकहरूले छोटो समयमै बन्दीपुरको शिखरमा पुगेर हिमाल, पहाड तथा आसपासका मनोरम दृश्य अवलोकन गर्न सक्ने भएका छन्। यससँगै थपिएका नयाँ गतिविधिहरूले बन्दीपुरको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत स्काइसाइकलिङ, जिपलाइन तथा अन्य मनोरञ्जनात्मक र साहसिक खेलहरू सञ्चालनमा ल्याइएका छन्, जसले विशेषगरी युवापुस्ता तथा साहसिक पर्यटन रुचाउने पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ। यस्ता गतिविधिहरूले बन्दीपुरलाई शान्त हिलस्टेसनबाट साहसिक तथा मनोरञ्जनात्मक गन्तव्यतर्फ रूपान्तरण गर्न सहयोग पुर्याउने देखिएको छ। साथै, मिनि स्काइ वाक निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

यसैगरी, बन्दीपुर केवलकारले स्थानीय परिकार र परम्परागत खानालाई प्राथमिकता दिँदै विभिन्न फुड प्याकेजहरू समेत विकास गरेको छ। यसबाट पर्यटकहरूले स्थानीय स्वाद र संस्कृतिको अनुभव लिन पाउने छन् भने स्थानीय किसान, होटल तथा व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। पर्यटनसँगै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य कम्पनीको प्राथमिकतामा रहेको जानकारी दिइएको छ।

कम्पनीले नेपाली पर्यटकसँगै भारतीय तथा अन्य विदेशी पर्यटकलाई लक्षित गर्दै डिजिटल प्रचार–प्रसार, ट्राभल तथा टुर एजेन्सीसँग सहकार्य, विशेष प्याकेज तथा छुट कार्यक्रम अघि बढाउने योजना बनाएको छ। पारिवारिक भ्रमण, विद्यार्थी समूह, कर्पोरेट तथा संस्थागत कार्यक्रमका लागि समेत बन्दीपुरलाई उपयुक्त गन्तव्यका रूपमा प्रवर्द्धन गरिने बताइएको छ।

पर्यटन गतिविधि सञ्चालनका क्रममा सुरक्षा, सेवा गुणस्तर तथा वातावरणीय संरक्षणलाई विशेष ध्यान दिइने कम्पनीले जनाएको छ। स्थानीय समुदायको सहभागिता तथा दिगो पर्यटन अवधारणालाई आत्मसात गर्दै बन्दीपुरलाई दीर्घकालीन पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
नयाँ सेवा तथा गतिविधिसँगै बन्दीपुर अब केवल सांस्कृतिक र प्राकृतिक सौन्दर्यको प्रतीक मात्र नभई स्थानीय खाना, साहसिक खेल र आधुनिक पर्यटन अनुभवको संगमस्थलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
बन्दीपुर केबल कार एण्ड टुरिजम लिमिटेडले शान्त वातावरणमा पार्किङ सुविधासहित केवलकार सेवा, ड्राइभ–इन रेष्टुरेन्ट, घुमाउने घर, बन्दीपुर इटरी, जिपलाइन, स्काइसाइकलिङ, ग्रिन मार्ट, सोभिनियर सप, चिल्ड्रेन पार्क लगायतका सेवाहरू प्रदान गर्दै आएको छ। साथै, स्थानीय होमस्टे तथा होटलहरूसँगको सहकार्यमा बसोबास र खानाको व्यवस्था सहित काठमाडौँदेखि बन्दीपुरसम्मको यात्रा प्याकेजसमेत उपलब्ध गराउँदै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij