काठमाडौं – नासा सेक्युरिटीजले सोमबारबाट मार्जिन ट्रेडिङ कारोबार सुरू गरेको गरेको छ। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ लागु गरेपश्चात नासाले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्न सक्ने सुविधा दिन सुरू गरेको हो।
कम्पनीका अनुसार अब लगानीकर्ताहरूले नासा सेक्युरिटीजबाट ऋण लिएर सेयर खरिद गर्न सक्नेछन्, जसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउनेछ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहक–मैत्री बनाइएको कम्पनीले बताएको छ।
नासाले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ।
कम्पनीको मार्जिन ट्रेडिङ योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरू गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।
यस योजना अनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रूपैयाँ लाग्ने कम्पनीले बताएको छ। सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रूपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जानाएको छ।
यसका अतिरिक्त कम्पनीले १० लाख रूपैयाँदेखि २ करोड रूपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहनेछ । नासा सेक्युरिटीजबाट मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ।
ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूचीभित्र मात्र कारोबार गर्नुपर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij