२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिको आह्वान

पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिको आह्वान

790
Shares

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो, भित्तेपात्रो तथा गोजी पात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

समितिको गठन आदेश, २०७७ को दफा ७ (ञ), (ठ) र (ढ) तथा आन्तरिक व्यवस्थापन दिग्दर्शन–२०७९ को परिच्छेद १५ बमोजिम पञ्चाङ्ग (पात्रो) तथा भित्तेपात्रो (क्यालेण्डर), गोजीपात्रो प्रकाशन गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससालाई जानकारी दिनुभयो ।

गठन आदेशअनुसार निर्माण भएको आन्तरिक व्यवस्थापन दिग्दर्शनको परिच्छेद १५ को दफा ५३.१ पञ्चाङ्ग तथा भित्तेपात्रो प्रकाशन गर्ने व्यक्ति, सङ्घ, संस्था, समुदायले पात्रो, भित्तेपात्रो, गोजी पात्रो, क्यालेण्डर, टेबल क्यालेण्डर प्रकाशन गर्न अनिवार्यरूपले समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

साथै सोही परिच्छेद १५ दफा ५६.१ बमोजिम प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोको निरीक्षण गर्न मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयको प्रतिनिधि, गृह मन्त्रायलको प्रतिनिधि, समितिले तोकेको पञ्चाङ्गकारको प्रतिनिधि, समितिको प्रतिनिधि रहने व्यवस्था रहेका उहाँले जानकारी दिनुभयो ।

अनुगमन समितिको सिफारिसमा समितिद्वारा स्वीकृति, नलिई भित्तेपात्रो वा पञ्चाङ्ग प्रकाशन गरेमा समितिले उक्त प्रकाशित सामग्री जफत गर्न, प्रकाशनमा रोक लगाउन र स्वीकृति लिई प्रकाशित भएका पञ्चाङ्ग, भित्तेपात्रोलाई हानी पु¥याए कसुर हेरी दश हजारदेखि एकलाखसम्म बिगोवापत दण्ड जरिवाना गर्न सक्ने व्यवस्था रहेको समितिले जनाएको छ ।

विसं २०७९ देखि पञ्चाङ्ग (पात्रो) का अतिरिक्त भित्तेपात्रो (क्यालेण्डरहरू) मा समेत स्वीकृति अनिवार्य गरिएको छ । समितिबाट स्वीकृति प्राप्त नगरी प्रकाशित गरिएका क्यालेण्डर तथा पञ्चाङ्गहरूमा चाडपर्व, तिथि, मिति, मुहूर्त, सरकारी बिदालगायत विषयमा त्रुटि तथा असङ्गति देखिन सक्ने हुँदा सर्वसाधारणमा भ्रम तथा असहजता उत्पन्न हुने गरेको पाइएकाले यसतर्फ समितिले विशेष ध्यानाकर्षण गराएको हो ।

नेपालभर प्रकाशन तथा वितरण गरिने सम्पूर्ण पञ्चाङ्ग (पात्रो) र भित्तेपात्रो (क्यालेण्डर) हरू समितिबाट स्वीकृति लिएर मात्र प्राप्त, प्रकाशन तथा वितरण गर्न सम्बन्धित सबै व्यक्ति, संघ–संस्था तथा निकायहरूलाई निर्देशन जारी गरिएको छ । स्वीकृति प्राप्त प्रकाशनमा स्वीकृति पत्र तथा नम्बर अनिवार्यरूपमा उल्लेख गरिएको हुन्छ ।

स्वीकृति नलिई प्रकाशन तथा वितरण गरिएका पञ्चाङ्ग तथा क्यालेण्डरहरू सम्बन्धित प्रशासनिक निकायमार्फत् जफत गरी प्रचलित कानूनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । यो विषय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरू, जिल्ला प्रशासन कार्यालयहरू, स्थानीय तह, शैक्षिक संस्था, उद्योग–वाणिज्य तथा सहकारी क्षेत्रलगायत सबै सरोकारवाला निकायहरूको सहयोगको आशा गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष प्राडा शम्भुप्रसाद ढकाल, सदस्य प्रा डा देवमणि भट्टराई र महिला ज्योतिष एवं समिति सदस्य रतिवेदी जोशी श्रेष्ठले पनि पात्रो, भित्तेपात्रो र गोजी पात्रो प्रकाशन अघि समितिको स्वीकृत लिनुपर्ने व्यवस्थालाई यस वर्षदेखि कडाइका साथ पालना गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij