२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली

985
Shares

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–५ पहारे बसेनी भौगोलिक रूपमा दुर्गम बस्तीमध्ये पर्छ । सडक, बजार र सेवा सुविधाको पहुँच सीमित रहेको यस गाउँमा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ ४२ वर्षीय खेम रजाली मगर ।

करिब पाँच वर्षअघि सामान्य व्यापारमा संलग्न रहनुभएका मगरले पछिल्ला दुई वर्षदेखि भने पूर्ण रूपमा व्यावसायिक कृषि कर्मलाई आफ्नो जीवनको मूल आधार बनाउनु भएको छ ।

“अरू साथीहरू विदेशतिर लागे, तर मैले आफ्नै गाउँमा केही गरौँ भन्ने सोच लिएँ”, उहाँले भन्नुभयो, “विगत दुई वर्षदेखि व्यावसायिक रूपमा बाख्रासँगै अन्य कृषिकार्य गरिरहेको छु ।”

माषिस पशु, पक्षी तथा कृषि फर्म दर्ता गरी मगर दम्पतीले अहिले आफ्नै गाउँमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा र मौरी पालन गर्दै आउनुभएको छ । यससँगै अम्रिसोको कुचो उत्पादन र बिक्री पनि उहाँहरूको आम्दानीको अर्को स्रोत बनेको छ । गाउँको भौगोलिक अवस्था चुनौतीपूर्ण भए पनि कृषि कर्ममा उहाँहरूको लगाव र परिश्रमले अहिले सफल कृषकको रूपमा चिनारी दिएको छ ।
“अहिले फर्ममा लोकल खरी जातका बाख्रा धेरै रहेका छन् । बजारमा खसीको माग अत्यधिक भएकाले बिक्रीको समस्या परेको छैन”, उहाँले भन्नुभयो, “कुखुरा, हाँस र मह पनि उत्पादन गर्ने गरी बिक्री गरिरहेको छु ।”

आर्थिक रूपमा हेर्दा बाख्राबाट मात्र एक सिजनमा चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । त्यसैगरी मौरीपालाबाट वार्षिक ५०–६० हजार रुपैयाँ र अम्रिसोको कुचो बिक्रीबाट थप आम्दानी हुँदै आएको मगरले बताउनुभयो ।

“कृषि कर्मबाट भएको कमाइ जोड्दा वर्षमा आठदेखि दश लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “आखिर विदेश नै गएको भए पनि वर्षमा तेती कमाइ हुँदैन होला ।”

श्रीमान्–श्रीमती दुवै जना मिलेर काम गर्ने गरेको मगरको भनाइ छ । बाख्रालाई घाँस, पानी, दवाई श्रीमान् श्रीमती दुवै जना मिलेर काम गर्दा कामको बोझ नभएको मगर दम्पतीको अनुभव रहेको छ ।

“हामी दुवै मिलेर काम गर्छौा, कामको थकानभन्दा आत्मसन्तुष्टि ठुलो छ”, उहाँले भन्नुभयो, “गाउँघर मै बसेर आफ्नै मेहनतमार्फत परिवारलाई खुसीका साथ पाल्न सकिएकोमा हामी सन्तुष्ट छौँ ।”

दुर्गम गाउँमा बसेर कृषि व्यवसाय गर्नु सजिलो भने छैन । घाँस, दाना, उपचार र बजारसम्म पु¥याउने समस्या अझै चुनौतीका रूपमा रहेका छन् । तर पनि स्थानीय स्रोत–साधनको प्रयोग, मेहनत र निरन्तरताले यी समस्या क्रमशः पार गर्न सकिने विश्वास मगरको छ । भविष्यमा यसै व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।
“उन्नत जातका बाख्रा थप्ने, मौरीका घार बढाउने र उत्पादनलाई व्यवस्थित बजारसम्म पु¥याउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “गाउँका अन्य युवालाई पनि कृषि कर्मतर्फ आकर्षित गर्ने चाहना रहेको छ, हेरौँ कति पुरा हुन्छ ।”

खेम रजाली मगरको कृषि कर्ममा हुप्सेकोट गाउँपालिकाले पनि सहयोग र सहकार्य गरिरहेको हुप्सेकोट गाउँपालिकाका पशु सेवा शाखाका बुद्धिबहादुर देउजाले बताउनुभयो ।

“युवाहरू बिदेसिने प्रवृत्तिबिच आफ्नै गाउँमा सम्भावना खोज्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश खेम रजालीजस्ता कृषक दिनुभएको छ”, पशु सेवा शाखा प्रमुख देउजाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij