२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

840
Shares

गण्डकी- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताउनुभएको छ । कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिनुभयो ।

“नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै जवाफ दिनु आवश्यक छ” सभापति थापाले भन्नुभयो,“नागरिकमा अविश्वास बढ्दै गएको छ । चरम निराशा छ । यी सबै कुरालाई आत्मसात गर्दै देशलाई सम्हाल्नु छ । देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्छ ।”

सभापति थापाले राष्ट्रमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै अब भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा आफ्नो पार्टी बदलिएर चुनावमा आएको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई विगतमा हिंसाको आहालबाट बाहिर निकालेको कांग्रेसले अब भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्ने बताउनुुभयो ।

निर्वाचनलाई केन्द्रमा राखेर हरेक मतदाताका घरघरमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति थापाले जनतासँग कुरा गर्नुुका समस्यालाई धैर्यताका साथ सुन्नुपर्नेमा जोड दिनुभयो । “देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी पार्टी निर्वाचनमा होमिएको छ । अब कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देशसहित जनतामाझ जानुपर्छ । सबै पार्टी पङ्क्ति एकताबद्ध भएर निर्वाचनमा होमिऔँ”, उहाँले भन्नुभयो ।

बैठकपछि सभापति थापा पार्टीको गण्डकी प्रदेश समितिको बैठकमा सहभागी हुनुुभएको छ । उहाँलाई पार्टीका प्रदेश सभापति शुक्रराज शर्माले स्वागत गर्नुुभएको थियो ।
बैठकको सुरुआत गर्दै सभापति शर्माले आम जनताको चाहनाअनुरुप देशलाई अघि बढाउनका लागि कांग्रेसको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउनुुभयो ।

निर्वाचनमार्फत पार्टीलाई थप सशक्त बनाएर देशका हरेक समस्यालाई समाधान गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकताअनुसार परिचालित हुन निर्देशन दिनुभयो ।
बैठकमा प्रदेश समितिका पदाधिकारीसहित गण्डकी प्रदेशमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij