काठमाडौं– नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (KVTPO) बीच काठमाडौँ उपत्यकाका कुल १,६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू (Soft Skills) तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यास सम्बन्धी विषयमा निरन्तर रूपमा अद्यावधिक बनाउँदै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु रहेको छ। ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” समुद्घाटन कार्यक्रम को अवसरमा हस्ताक्षरित उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक (IGP) श्री दानबहादुर कार्की र NAIMA का बोर्ड सदस्य श्री सौरभ ज्योति बीच गत शनिबार आदान–प्रदान गरिएको हो। समझदारीअनुसार NAIMA ले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी/यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयहरूमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ। यसैगरी, ट्राफिक कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ।
समझदारी कार्यान्वयन अन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गते आइतबारदेखि सुरु हुनेछ। तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुने र प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ। तालिममा तनाव व्यवस्थापन/ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन सत्र, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण, तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीप लगायत विषय समेटिएका छन्। तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुलचोक क्याम्पस तथा थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञान (Jeevan Bigyan) का प्रशिक्षकहरू, NAIMA का सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षक (Life Coach) रमन भट्टराई, साथै आवश्यकताअनुसार अन्य स्वतन्त्र (फ्रील्यान्स) विषय विज्ञहरू सहभागी हुनुहुनेछ। यस्तै, तालिमका केही महत्त्वपूर्ण सत्रहरू ट्राफिक प्रहरी प्रमुख र वरिष्ठ ट्राफिक प्रहरी अधिकृत ज्यूहरूले समेत लिनुहुनेछ। विषयगत प्रस्तुति, व्यावहारिक अवलोकन, अन्तरक्रिया, र श्रव्य दृश्य अवलोकन तालिमको मुख्य ढाँचा रहनेछ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक (SSP) नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर रूपमा शिक्षित बनाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “ट्राफिक प्रहरी दैनिक रूपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, त्यसैले उनीहरूको व्यवहारकुशल सीपहरू सुदृढ गर्नु र नयाँ सवारी प्रविधिबारे अद्यावधिक गराउनु जरुरी छ।” उहाँले दीर्घकालीन साझेदारीमा NAIMA को निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभयो।
NAIMA अध्यक्ष श्रीमती ऋतु सिंह वैद्यले NAIMA को दृष्टिकोण “Empowering Growth through Mobility” अनुरूप सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता शिक्षा/सचेतना, दक्ष मानवस्रोत विकास तथा नीति पैरवीमा संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले यो दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत सडक सुरक्षा सुदृढ गर्दै नागरिकमैत्री सेवा प्रवाह सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
NAIMA का बोर्ड सदस्य तथा Road Safety & Infrastructure Enhancement Committee का संयोजक सौरभ ज्योतिले यो दीर्घकालीन तालिम कार्यक्रम सडक सुरक्षा, जनचेतना तथा पूर्वाधार सुदृढीकरणसँग प्रत्यक्ष जोडिएको बताउनुभयो। उहाँले यसले सुरक्षित सडक संस्कृतिको विकाससँगै मानवस्रोत सुदृढीकरण मार्फत दीगो मोबिलिटी प्रवर्द्धनमा योगदान पुर्याउने उल्लेख गर्नुभयो।
NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले तालिम कार्यक्रमले नयाँ तथा उदीयमान सवारी प्रविधिबारे सहभागीलाई अभिमुखीकरण गर्ने मात्र नभई दैनिक सेवा प्रवाहमा आवश्यक व्यवहारकुशल सीपहरू समेत सुदृढ गर्ने गरी तयार गरिएको बताउनुभयो। उहाँले आवश्यकता र मागअनुसार सरोकारवालालाई प्रशिक्षित गर्ने यस्ता कार्यक्रमहरू NAIMA का रणनीतिक प्राथमिकतामध्ये रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर अघि बढाइने जानकारी दिनुभयो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij