काठमाडौँ- सालपा विकास बैंकको प्राथमिक शेयर (आईपीओ) आगामी पौष २५ गते शुक्रवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ बाँडफाँटका लागि आवश्यक ‘प्रि-अलॉटमेन्ट’ को काम सम्पन्न भइसकेको छ।
यस आईपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो।
कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ।
यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर छुट्टाएर बाँकी रहेको कित्ता सर्वसाधारणका लागि खुला गरेको थियो।
सालपा विकास बैंकको खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij