काठमाडौं – प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ९.२७ प्रतिशत बढेको हो । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले चालु आवको ६ महिनामा ४ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको ४ अर्ब ४१ करोड ९२ लाख रुपैयाँभन्दा ५.३ प्रतिशत धेरै हो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद फी तथा कमिसन आम्दानी पनि बढेको छ । बैंकको खुद फी तथा कमिसन आम्दानी ८९ करोड ३१ लाख रुपैयाँबाट १५.४२ प्रतिशतले बढेर १ अर्ब ३ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी ५ अर्ब ६३ करोड ६० लाख रुपैयाँबाट ९.७८ प्रतिशतले बढेर ६ अर्ब १८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन नाफा ३ अर्ब १८ करोड ६९ लाख रुपैयाँबाट ६.५४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ पुगेको छ । आम्दानी र नाफामा वृद्धि भए पनि बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ८४ करोड १७ लाख रुपैयाँबाट घटेर ३७ करोड रुपैयाँमा झरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २८ पैसाबाट सामान्य बढेर १९ रुपैयाँ ५० पैसा पुगेको छ । खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ६.३८ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६५.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२.२५ गुणा छ ।
चुक्ता पुँजी २० अर्ब ९५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३७ करोड रुपैयाँ र रिजर्भ कोषमा १३ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ । बैंकले हालसम्म २ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब १७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij