काठमाडौं -माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुपरमाई हाइड्रोपावर लिमिटेडबीच सुपरमाई हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख व्यवस्थापन तथा शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता माघ ८ गते हस्ताक्षर गरिएको हो, जसअनुसार सेवा फागुन १ गतेदेखि लागू हुने जनाइएको छ।
सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटल लिमिटेडले सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरवालाको लगत अद्यावधिक राख्ने, धितोपत्र कारोबारसम्बन्धी अभिलेख सुरक्षित गर्ने, दाखिल खारेज, नामसारी, शेयर टुक्र्याउनेलगायत रजिष्ट्रारसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्नेछ। यसले कम्पनीको शेयर व्यवस्थापन प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार तथा सुपरमाई हाइड्रोपावर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबि पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुवै पक्षले यस सहकार्यले कम्पनी तथा लगानीकर्ताबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij