२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

645
Shares
काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का अवसरमा उम्मेदवार मनोनयन प्रक्रियाबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रश्नोत्तर सत्रमा सहभागी हुनुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ । यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उहाँको भनाइ छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले अब निर्वाचित हुने जनप्रतिनिधिले देशमा सुशासनका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अब मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको दाबी विरोध, छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर माघ ९ गते निर्वाचन चिह्न प्रदान गरिने उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसपछि घरदैलो कार्यक्रम गर्न सक्ने जानकारी गराउनुभयो । निर्वाचन प्रचारप्रसारका ठूला कार्यक्रम भने फागुन ४ गतेपछि मात्र गर्न पाउने उहाँले बताउनुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समन्वयात्मक रूपमा चारवटै सुरक्षा निकायलाई परिचालन गरी निर्वाचन कार्यक्रम सम्पन्न गरिने बताउनुभयो । यसैगरी प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले राजीनामा दिएकाले छ महिनाभित्र सरकारसँग सल्लाह गरेर खाली भएका क्षेत्रमा निर्वाचन गराउने उहाँको प्रतिबद्धता थियो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस वर्ष आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले यसलाई पालना गर्न आह्वान गर्नुभयो । निर्वाचन आचारसंहिताको पालना नगरेको भनेर उजुरी परेमा आयोगले कानुनबमोजिम कारबाही गरिने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij