२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै

गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै

825
Shares

नवलपुर- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो ।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नरायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् । कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले पर्यटकीय प्रयोजनका लागि सञ्चालन गर्न लागिएको क्रुज गैँडाकोट पुलचोकबाट देवघाटसम्म सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । “हामीले राइनो क्रुजलाई यातायातका लागि भन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “हामीले डिनर क्रुज (क्रुजभित्रै खाना खाने प्याकेजसहित)लाई केन्द्रित गरी राइनो क्रुज सञ्चालन गर्दैछौँ ।”

यही माघमा सञ्चालनमा ल्याउने तयारीस्वरुप राइनो क्रुटलाई पुनर्निर्माण गरिएको उल्लेख गर्दै प्रबन्ध निर्देशक ढुङ्गेलले प्राविधिक परीक्षणपछि नियमित सञ्चलनको तयारी भइरहेको बताउनुभयो । दुईवटा तला र एउटा ३६० डिग्री अवलोकनस्थल रहेको क्रुजको क्षमता दुई सय जना यात्रुको भए पनि एक सय ५० जनालाई सेवा दिनेगरी सञ्चालन गर्न लागिएको ढुङ्गेलको भनाइ छ । क्रुजभित्रै रेष्टुराँको सुविधा रहने भन्दै उहाँले क्रुजमा मनोञ्जन हुनेगरी लाइभ म्युजिक (गीत, सङ्गीत) प्रस्तुत हुने बताउनुभयो ।

यस राइने क्रुजलाई लक्जरी रिभर क्रुज बनाउँदै नियमित प्याकेजहरू सञ्चालन गरिने उहाँले बताउनुभयो । क्रुज यात्राका लागि प्याकेजमा क्रुजभित्रै खाना तथा नास्ताको व्यवस्था रहने भन्दै ढुङ्गेलले टिकटमात्र काटेर क्रुज यात्रा गर्दा पनि थप शुल्क तिरेर रेष्टुराँबाट खाना तथा खाजा खान सकिने जानकारी दिनुभयो । “राइनो क्रुज नियमित सञ्चालनमा आएपछि हामीले प्याकेज र शुल्क सार्वजनिक गर्नेछौँ”, ढुङ्गेलले भन्नुभयो, “अहिले हामीले होटल रिभर क्राउन र क्रुजमा गरी रु ५० करोड लगानी गरेका छौँ, यहाँ ५० जनालाई प्रत्यक्ष रोजगारीसमेत सृजना भएको छ ।”

होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीबाट सञ्चालन गरी होटललाई तारे (स्टार) होटलको स्तरमा पुर्याउने र आगामी पाँच वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी रहेको उहाँको भनाइ छ । राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको ढुङ्गेलले जानकारी दिनुभयो । “गैँडाकोटको पुलचोक पर्यटकीय क्षेत्रका रूपमा विकस हुँदै गएको र यहाँ आउने पर्यटकका लागि सहज पहुँच पनि भएकाले रिभर क्राउनबाट राइनो क्रुज सञ्चालन हुन लागेको हो”, उहाँले भन्नुभयो, “मनोरञ्जनसहित डिनर केन्द्रित क्रुजमा तीन घण्टासम्म समय बिताउन सकिनेगरी प्याकेज तयार हुँदैछ ।”

गैँडाकोटमा नारायणी नदीमाथि बन्दै गरेको सिग्नेचर पुलसँगै राइनो क्रुजले यस क्षेत्रमा पर्यटनको नयाँ ढोका खोल्ने ढुङ्गेलले बताउनुभयो । विसं २०७९ माघ १ गते चितवनको भरतपुर–१६ काभ्रेघाटमा सञ्चालन गरिएको क्रुज विभिन्न कारणले बन्द भएपछि पुनर्निर्माणसँगै गैँडाकोटबाट सञ्चालन गर्न लागिएको हो । काभ्रेघाट वरिपरि नारायणी नदीको बहाब, अवस्थिति धेरै कारणले त्यहाँ क्रुज यात्रा सहज नहुँदा यो बर्खामा विभिन्न उपकरण प्रयोग गरी क्रुजलाई गैँडाकोटसम्म ल्याइएको थियो ।

“सबै कुराले गैँडाकोट उपयुक्त रहेकाले अब यस क्रुजलाई दीर्घकालीन रुपमा सञ्चालन गर्ने योजनासहित होटललाई समेत जोडेर हामी अगाडि बढेका हौँ”, उहाँले भन्नुभयो, “क्रुजलाई देवघाटसम्म सञ्चालन गर्दा नवलपुरसँगै चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा नयाँ आयाम थपिने हाम्रो विश्वास छ ।” क्रुज सञ्चालनका लागि कम्पनीले यसअघि नै पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij