२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंक तथा वित्तीय संस्थाका कर्मचारी माथि आक्रमण गर्नेलाई कारबाही हुन्छ – राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाका कर्मचारी माथि आक्रमण गर्नेलाई कारबाही हुन्छ – राष्ट्र बैंक

1.6K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीलाई लक्षित गर्दै भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले यस्ता गतिविधिले समग्र वित्तीय प्रणालीको स्थायित्व र सेवाप्रवाहमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ  ।

 हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारको योजना अनुसार अहिले नेपालका सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भइसकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जा सम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने हुन्छ । यद्यपि, कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय–समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

बैकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेको भन्ने लागेमा सोको गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था रहेको स्मरण गराउँदै बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्घ भएका गैरव्यावसायिक तथा उच्छृब्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकोले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ । वित्तीय संस्थाका कर्मचारीमाथि गैरजिम्मेवार व्यवहार गर्ने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारवाही गरिने हुँदा उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij