२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत

975
Shares

पाकिस्तानले मङ्गलबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आफ्नो आर्थिक पुनरुत्थान र सुधार कार्यक्रमलाई सहयोग गर्न थप १.२ अर्ब डलर ऋण जारी भएको बताएको छ। ऋण सहयोगलाई दुई वर्षको वित्तीय सङ्कटपछि गरिएको ‘कडा मेहनत’ को प्रमाणको रूपमा वर्णन गरिएको छ।

आइएमएफले सोमबार वाशिङ्गटनमा बसेको बैठकमा उक्त रकम स्वीकृत गरेको हो । आइएमएफले उद्धार कोष र एक जलवायु स्थिरता कोष गरी ३.३ अर्ब डलरको दुई ऋण सुविधाहरू अन्तर्गत सहयोग प्रदान गरिएको जनाएको छ ।

आइएमएफका उपप्रबन्धक निर्देशक नाइजेल क्लार्कले एक वक्तव्यमा भन्नुभयो, “पाकिस्तानले पछिल्ला केही सङ्कटहरू र खासगरी गत बर्षायामको विनाशकारी बाढीको सामना गर्दा पनि आर्थिक स्थिरता कायम राख्न आइएमएफले मद्दत गरेको छ।”

पाकिस्तानको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्षसम्म ३.२ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । यो गत वर्षको अनुमानित ३.० प्रतिशतभन्दा बढि हो।

त्यसैगरी, मुद्रास्फीति यस आर्थिक वर्षमा औसत ६.३ प्रतिशत रहने छ, जुन सन् २०२४ जुनसम्मको वार्षिक २३.४ प्रतिशतको औसतबाट ठूलो गिरावट हो ।

क्लार्कले राज्यमा स्वामित्व भएका कम्पनीहरूको थप सुधार र निजीकरण साथै चरम मौसम घटनाहरूको जोखिम कम गर्न जलवायु परियोजनाहरूमा निरन्तर लगानीको आवश्यकता पनि औँंल्याउनुभयो ।

क्लार्कले विपद् कोषमा हुने भ्रष्टाचारविरुद्ध नयाँ प्रयासहरूको आवश्यकता रहेको बताउनुभयो ।

सरकारले हालै छलीसम्बन्धी तयार गरेको प्रतिवेदनलाई ‘सरकारी सुधारहरूलाई तीव्र पार्ने स्वागतयोग्य कदम’ को रूपमा स्वागत गरेको छ ।

प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा नयाँ ऋणहरूलाई ‘पाकिस्तानको आर्थिक स्थायित्व र वृद्धिको प्रमाण’ को रूपमा वर्णन गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशलाई आर्थिक सङ्कटको किनारबाट फर्काएर स्थिरता र विकासको मार्गमा लग्नु एक कठिन चरण थियो र यसका लागि देशबासी सबैको योगदान प्रशंसनीय हुनेछ।”

पाकिस्तानले सन् २०२३ मा आफ्नो ठूलो ऋणको बोझबाट उठ्न आइएमएफबाट प्राप्त ‘एक्सटेन्डेड फण्ड फ्यासिलिटी नामक उद्धार कोष’ प्राप्त गरेको छ र यो आगामी वर्षहरूमा कुल सात अर्ब डलर पुग्नेछ ।

यस सम्झौताअन्तर्गत पाकिस्तानले सम्पत्ति शुद्धिकरण र देशमा आतङ्कवादको कथित वित्त पोषण पनि समावेश भ्रष्टाचारविरूद्धको अभियानको सामना गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

नोभेम्बरमा आइएमएफले पाकिस्तानी सरकारको अनुरोधमा गरिएको समीक्षा प्रकाशित गरेको थियो जसले ‘व्यापकरूपमा राज्यको नियन्त्रणमा रहेको अर्थतन्त्रमा निरन्तर र व्यापक भ्रष्टाचार जोखिम’हरू रहेको उल्लेख गरेको थियो ।

यसले ‘आर्थिक वृद्धि, लगानी, र सार्वजनिक विश्वासमा महत्वपूर्ण नकारात्मक प्रभावहरू’ रहेको रिपोर्ट दिएको थियो भने ‘कानूनको शासन र भ्रष्टाचार विरोधी संस्थाहरूको कार्यसम्पादनलाई अघि बढाउन कदम चाल्न’ आग्रह गरेको थियो ।

पाकिस्तान अर्जेन्टिना र युक्रेन पछि आएएमएफको सबैभन्दा ठूलो ऋणीहरू मध्ये एक हो । यसले जनवरीमा विश्व बैङ्कबाट १० वर्षको लागि २० अर्ब डलरको वित्तीय प्याकेज पनि पाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij