२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

955
Shares

पर्सा- वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर्ति गर्ने विश्वास लिइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले तरकारी तथा फलफूलको थोक बजार यहाँकै बासिन्दका लागि तयार पारिएको बताउनुभयो ।

“यो बजार छपकैयावासीकै नाममा बनाइएको हो । सफा, सुरक्षित र व्यवस्थित राख्न यहाँका स्थानीयवासीको भूमिका महत्वपूर्ण छ । यो यहाँकै सम्पत्ति र धरोहर हो,’’ प्रमुख सिंहले भन्नुभयो,‘‘ डेढवर्ष अगावै सञ्चालन गर्न खोजेपनि विविध कारणले केही समय ढिलो भएको हो ।’’

प्रमुख सिंहले बिपी उद्यानमा रहेका व्यवसायीको कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन केही समय बढी लागेको बताउनुभयो ।‘‘अब बिपी उद्यानमा रहेको अव्यवस्थित बजारलाई हटाउने अभियान थालनी गरिनेछ,’’ उहाँले भन्नुभयो,‘‘बिपी उद्यानका व्यवसायीलाई यहाँ स्थानान्तरण गर्नका लागि पनि विकल्प दिएका छौंँ ।’’पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताउनुभयो ।

“अव्यवस्थित थोक बजारको अभावका कारण किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा बिक्री गर्नुपर्ने बाध्यता थियो । अब किसानले सहज रूपमा उत्पादन ल्याउन, उपभोक्ताले व्यवस्थित रुपमा खरिद गर्न र सवारी सञ्चालन पनि सरल हुनेछ,’’ उहाँले भन्नुभयो ।महानगरका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा रु ७० लाखको लागतमा निर्माण गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् ।

बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन् । आगामी दिनमा दोस्रोचरणमा पनि थप रु ७० लाख लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गर्ने योजना रहेको महानगरले जनायो ।

महानगरका अनुसार खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij