२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

850
Shares

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ ।

आज बसेको बैठकले प्रतियोगिताका लागि सङ्घको विधानअनुसार क्लबका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई टोली दर्ता गर्न खुला गर्ने निर्णय गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गरिने पनि उहाँले बताउनुभयो । बैठकले राष्ट्रिय लिगको आगामी एक वर्ष र सहिद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षका लागि ‘मार्केटिङ’, ‘टिकेटिङ’, ‘ब्रोडकास्टिङ’, डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । बोलपत्रका लागि राष्ट्रिय लिगको सात दिने र सहिद स्मारक ए डिभिजन लिगको लागि १५ दिने सूचना जारी गर्ने निर्णयसमेत गरिएको एन्फाले जनाएको छ ।

फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धुलिखेल, धनगढीमा नयाँ क्रिकेट घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न फिफाबाट छनोट भएकामध्ये ‘एडेल ग्रास’लाई छनोट गर्न प्रस्ताव गर्ने निर्णय पनि बैठकले गरेको महासचिव राईले बताउनुभयो । यस्तै, ‘एएफसी इक्वेल पिच’ कार्यक्रमअन्तर्गत दशरथ रङ्गशालामा ‘हाइब्रिड’ घाँसे मैदान राख्न प्रस्ताव पेस गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकबाट एएफसीको कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको मैदानमा कार्यालयसहित प्यारापिट निर्माणलगायत अत्यावश्यक संरचना निर्माण गर्न जगदम्बा मोक्तान जेभीलाई रु एक करोड २६ लाख ४८ हजार ८१५ मा ठेक्का प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने पोसाक तथा खेल सामग्री खरिद सम्झौता सम्बन्धित कम्पनीसँग अक्टोबर २१, २०२६ सम्म नवीकरण गरिएको छ भने अर्को वर्षदेखि एक वर्षको लागि बोलपत्र आह्वान गर्ने पनि भएको छ ।

यसैगरी साफ महिला यु–१९ प्रतियोगिता आगामी फागुन महिनामा पोखरामा आयोजना गर्ने र महिला फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुरमा, सहिद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी स्थान तोकिने निर्णय गरिएको एन्फाले जनाएको छ ।

थाइल्याण्डमा आगामी जनवरीमा आयोजना हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि प्रत्येक टोलीलाई रु ७२ लाख ५६ हजार ३४५ दिने गरी अनुमानित बजेट रु एक करोड ४५ लाख १२ हजार ६९० अनुमोदन गर्ने निर्णयसमेत गरिएको महासचिव राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij