२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

असोजभित्रै विकास निर्माणका योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

असोजभित्रै विकास निर्माणका योजना सम्पन्न गर्ने उपभोक्ता समिति सम्मानित

870
Shares

गोरखा- असोजभित्रै विकास निर्माणका योजना सम्पन्न गर्ने गोरखाका तीन उपभोक्ता समिति सम्मानित भएका छन् । पहिलो त्रैमासिकभित्रै योजना सम्पन्न गरी फरफारक गरिसकेको उल्लेख गर्दै सहिदलखन गाउँपालिका–७ ले आज एक समारोहमा प्रशंसापत्र प्रदान गरी सम्मान गरेको हो ।

“हामीले आर्थिक वर्षको सुरुमै सबैभन्दा पहिले योजना सम्पन्न गर्न सफल प्रथम, दोस्रो र तेस्रो उपभोक्ता समितिलाई सम्मान गर्ने घोषणा गरेका थियौँ”, वडाध्यक्ष शरण श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार सबैभन्दा पहिले गत असोज २ गते नै योजना सम्पन्न गर्ने बोर्लाङी गाउँ सामुदायिक भवनमा ट्रस्ट निर्माण गर्ने उपभोक्ता समिति, दोस्रो मकैपुर, डाँडागाउँ सितलचौतारा बाटो ढलान उपभोक्ता समिति र तेस्रो असोज ४ गते नै योजना सम्पन्न गर्ने बुङ्कोट स्वास्थ्यचौकीमा सुत्केरी कक्षा स्तरोन्नति गर्ने उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।

विकास निर्माणमा सक्रियता र जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सम्मान गरिएको उहाँले बताउनुभयो ।

सो वडा कार्यालयले चालु आर्थिक वर्ष १६ वटा विकास निर्माणका योजना तर्जुमा गरेको छ । जसमध्ये १२ वटा योजना सम्पन्न भएर योजना फरफारक भइसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । बाँकी चारवटा योजनाको पनि धमाधम काम सञ्चालन भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार पुसको दोस्रो साताभित्र सबै योजनाहरु सम्पन्न हुने गरी काम भइरहेको छ ।

वडाले विभिन्न १० वटा सफ्टवेयरका कार्यक्रम पनि सञ्चालन गर्दैछ । जसमध्य तीनवटा सुरु हुन बाँकी रहेको अरु सञ्चालन भइरहेको र सबै योजना तथा कार्यक्रम पुसको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य रछ । सो वडामा साउन १ गते सबै उपभोक्ता समिति गठन भएर अभिमुखीकरण गरी योजना सम्झौता भइसकेको थियो ।

दोस्रो चौमासिक नसकिँदै शतप्रतिशत कार्य प्रगति गर्ने लक्ष्य रहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । यसअघि पनि सो वडाले योजना तथा कार्यक्रम शतप्रतिशत सम्पन्न गरेबापत दुई आर्थिक वर्षसम्म गाउँपालिकाबाट पुरस्कृत भएको थियो । शतप्रतिशत कार्यप्रगति गर्ने वडालाई पुरस्कृत गर्ने गाउँपालिकाको कार्यक्रमअनुसार सो वडाले दुईपटकसम्म रु पाँच–पाँच लाखका दरले पुरस्कार प्राप्त गरिसकेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij