काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरूले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् ।
प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरू अशोक स्टील, हुलास र हामा स्टीलले दोस्रो किस्ता रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले दोस्रो किस्ता रकम तिर्न पत्राचार गर्न थालेसँगै उद्योगीहरू धमाधम दोस्रो किस्ताको रकम तिर्न आएका बताए । उनले अहिलेसम्म अशोक स्टीलले ६३ लाख रुपैयाँ, हुलास स्टीलले ५० लाख ४३ हजार रुपैयाँ र हामा स्टीलले २० लाख ८९ हजार रुपैयाँ तिरेका बताए । यसैगरी शुभश्री अग्नि सिमेन्टले पनि दोस्रो किस्ताबापतको रकम तिरेको छ । शुभश्रीले ३ लाख ५३ हजार रुपैयाँ बुझाएको हो ।
प्राधिकरणले लाइन काटेपछि उक्त रकम बराबरको पहिलो किस्ता तिरेका थिए । यसअघि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि बक्यौताको दोस्रो किस्ता तिरिसकेका छन् । जसमा लक्ष्मी स्टीलको १९ करोड ३ लाख रुपैयाँ छ भने सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैया कुल बक्यौता छ ।
प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ । गत कार्तिकमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेको थियो । प्राधिकरणले लाइन काटेसँगै उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij