२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

हुप्सेकोटका तीन हजार किसान काँक्रा बेचेर कुस्त कमाउँदै

855
Shares

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।

स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती गर्दै आउनुभएको छ । दुई बिघामा खेती गर्नुभएका उहाँले लागत खर्च कटाएर वार्षिक रु २० लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक बाली धान लगाएर काँक्रा लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रामात्रै लगाउने गरेका छौँ ।”

तरकारी सुपरजोन कार्यक्रमका संयोजक तथा किसान थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार किसान काँक्राखेतीमा संलग्न छन् । रजालीले भन्नुभयो, “हामीले १४ वर्षदेखि काँक्राखेती गरिरहेका छौँ । यस वर्ष ८० टनभन्दा बढी बिक्री गर्ने लक्ष्य छ ।”

कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् । उनीहरूको व्यावसायिकता साँच्चिकै लोभलाग्दो छ । वर्षमा तीन बाली काँक्राखेती गर्ने उनीहरूलाई आर्थिक अभाव विरलै हुन्छ ।

धान बालीमात्र लगाउँदै आउनुभएकी दिलमाया परियारले काँक्राबाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती लगाउँदै आउनुभएको छ । “दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा रु दुई लाखसम्म आम्दानी हुने गरेको छ”, परियारले भन्नुभयो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ । भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढलगायतका ठूला बजारमा बिक्रीका लागि लगिने गरिएको छ ।

समूहसँगै व्यवसाय दर्ता गरी काँक्राखेतीमा रमाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिङ प्लास्टिक, तराजु, डोरीलगायत सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । गाउँपालिका क्षेत्रबाट उत्पादन हुने सागसब्जी बजार पु¥याउन पनि पालिकाले सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij