काठमाडौं- माछापुच्छ्रे क्यापिटल लिमिटेडले आज मंसिर १४ गतेदेखि सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई निष्काशन तथा बिक्री खुला गरेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो योजना खुलामुखी प्रकृतिको योजना हो।
यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रबर्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्।
योजनाको इकाईमा मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा मंसिर २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्धकलाई केयरएनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन एएमसी क्वालिटि ३ रेटिङ्ग प्रदान गरेको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij