२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनपिएल : पोखराले निकाल्यो पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

एनपिएल : पोखराले निकाल्यो पहिलो जित, साविक विजेता जनकपुरको लगातार तेस्रो हार

1.4K
Shares

काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विपिन खत्रीको उत्कृष्ट बलिङको मद्दतमा पहिलो जित निकालेको छ।

सुरुवाती दुई खेलमा पराजित पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर  बोल्ट्सलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो ।

पोखरा र जनकपुर दुवैले यसअघि सुरुआती दुवै खेलमा हार व्यहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा थिए । त्यसमा पोखराले बाजी मार्‍यो ।

विपिनले ४ विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जितसम्म पुर्‍याउन भने सकेनन् । आठौँ नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए ।

अन्तिम ओभरको दोस्रो बलमा सिंगल लिएर अर्धशतक पूरा गरेपछि उनी रिटायर्ड आउट भएका थिए ।

यस्तै सञ्जय कृष्णमूर्तिले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए भने माज साजाकातले २० रन जोडे ।

जनकपुरको ब्याटिङ अर्डरलाई ध्वस्त पार्ने क्रममा पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सुमित वर्माले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

कप्तान कुशल भुर्तेल र जिमी निशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुमित वर्माको अर्धशतक मदतमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिम समेत हो । पोखराका लागि युगान्डाका अलराउण्डर सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij