धनकुटा – नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया तथा छलफल कार्यक्रम मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राई ले बीमाको विभिन्न विषयमा आफनो प्रस्तुतीकरण राख्नुभएको थियो । अन्तरक्रियामा सहभागीहरूले सरकारी भवनको बीमाको आधार र दर, अभिकर्तामार्फत हुने सम्भावित ठगी, पशु बीमामा औषधि वितरणका प्रदेशगत फरक व्यवस्था तथा तेस्रो पक्ष मोटर बीमाको दाबी भुक्तानी चरणबद्ध गर्न सकिने–नसकिने जस्ता प्रश्नहरू उठाएका थिए ।कार्यक्रमका प्रमुख अतिथि शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले कृषक तथा सर्वसाधारणसम्म बीमा सम्बन्धी जानकारी पुग्नुपर्ने आवश्यकता औंल्याउँदै बाली, पशु र भवनसमेत सबै संरचनाको बीमा सम्भव रहने जानकारी व्यापक रूपमा फैलाउनुपर्ने बताउनुभयो । बीमा सुरक्षणको माध्यम भएकाले यसप्रकारका कार्यक्रम उपयोगी रहेको उहाँले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष रत्नश्वरीं राईले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमले समुदायमा ठूलो प्रभाव पर्ने उल्लेख गर्दै मानिस मात्र नभई पशु, बाली र भौतिक संरचनाको बीमा गर्न सुझाव दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले बीमा प्रक्रिया तथा पहुँचबारे छोटो समयमा व्यापक जानकारी पाएको बताउँदै यसलाई स्थानीय तहमा पुनः प्रसारण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले सबै बीमा सेवा लाइसेन्स प्राप्त कम्पनी र अधिकृत व्यक्तिमार्फत मात्र ग्रहण गर्नुपर्नेमा जोड दिँदै दाबीका बेलामा घटनाको यथार्थ विवरण अनिवार्य रूपमा दिन अनुरोध गर्नुभयो । बीमा सेवासम्बन्धी उजुरी भएमा नेपाल बीमा प्राधिकरणमार्फत अनलाइन उजुरी दिन सकिने व्यवस्था रहेको बताउनुभयो । उहाँले कृषिमा सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने जानकारी दिँदै सिफारिसमा शंका लागेमा प्राधिकरणसँग प्रत्यक्ष समन्वय गर्न सकिने बताउनुभयो । निजीर्वन बीमामा क्षति मूल्याङ्कनमा केही समय लाग्ने भएकाले धैर्य राख्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा सहिदभूमी गाउँपालिका का कर्मचारी , बीमक , बीमा अभिकर्ता , स्थानिय जनताहरुको उपस्थिती रहेको थियो ।