२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोल्याण ग्रुपद्वारा ‘किड्स प्ले–डेट’ आयोजना

गोल्याण ग्रुपद्वारा ‘किड्स प्ले–डेट’ आयोजना

580
Shares

काठमाडौं – विश्व बाल दिवसको अवसरमा गोल्याण ग्रुपले बिहीबार जेनजी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम आयोजना गरेको छ । धुम्बाराहीको उप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका र उनीहरूका अभिभावक सहभागी थिए ।

गोल्याण ग्रुपले गत असोज २४ मा सहिद परिवारका बालबालिकाका लागि शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो । योजनाअन्तर्गत हालसम्म २७ जना बालबालिकालाई १२ कक्षासम्मको शैक्षिक खर्च व्यहोर्नका लागि अभिभावकसँग समझदारी गरिएको छ ।

बिहीबारको कार्यक्रममा शैक्षिक वृत्ति योजनामा सामेल काठमाडौंमा रहेका सहिद परिवारका बालबालिका तथा अभिभावक सहभागी थिए । बालबालिकाहरूले उप्सको फनपार्कमा विभिन्न मनोरन्जनात्मक तथा बौद्धिक गेम खेलेर आनन्द लिएका थिए ।

कार्यक्रममा गोल्याण ग्रुपका प्रवन्ध निर्देशक अक्षय गोल्याणले ‘नयाँ परिवार’ का सदस्यबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले जमघट आयोजना गरिएको बताए । “हाम्रो नयाँ परिवार साझा प्रतिबद्धता र उद्देश्यले एकताबद्ध भएको हो,” उनले भने, “यस्तो परिवार, जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, उनीहरूको कदर र संरक्षण गरिन्छ ।” बालबालिकाको हित र विकासमा मात्र देशको समृद्धि संभव हुने भएकाले उनीहरूको स्वतन्त्रता, खुसी र अवसरको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले विश्व बाल दिवसको अवसर पारेर बालबालिकाहरूको अधिकारको सम्मान र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । “बालबालिकाको खुसीमा उनीहरूको सबैखाले विकासका आयामहरू जोडिएका हुन्छ्न्, समाजको समृदिको मार्ग पनि यसबाटै सुरु हुन्छन्,” उनले भनिन्, “आजको किड्स प्लेडेट यसकै लागि गरिएको हो ।”

गोल्याण ग्रुपले जेनजी सहिद परिवारका बालबालिकाको लागि कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भई दोस्रो चरणमा विद्यालय, अभिभावक र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij