२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वायुसेवा निगमको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

वायुसेवा निगमको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

985
Shares

काठमाडौं – सरकारले अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम गर्ने गरी नेपाल वायुसेवा निगमको कार्यकारी सञ्चालकको रूपमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको सञ्चालक समिति सदस्य समेत रहेका श्रेष्ठलाई महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि यस्तो जिम्मेवारी दिएको हो।

निगममा तत्काल समाधान गर्न सकिने विषयहरू अघि बढाउने गरी श्रेष्ठलाई जिम्मेवारी दिएको स्रोतले बताएको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएयता डोलेश्वर कोइराला र जनकराज कालाखेतीलाई निमित्तको जिम्मेवारी दिइएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिक्त महाप्रबन्ध पदको पदपूर्तिका लागि दरखास्त आवेदन पनि खुलाएको छ। यद्यपी यसबीचमा मन्त्रालयको कार्याभार समेत सम्हालिरहेकी प्रधानमन्त्री सुशिला कार्कीले निगम सञ्चालक समितिसँग पटकपटक बैठक पनि बस्दै आइरहेकी थिइन्।

हाल कामु महाप्रबन्धकको जिम्मेवारीमा रहेकाबाट इजरायली कम्पनीसँग रोकिएको इन्जिन भुक्तानी समाधान गर्न नसक्ने अवस्था देखिएपछि फेरि नेतृत्व परिवर्तन गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, कालाखेतीले प्रधानमन्त्री कार्कीसँगको छलफलमा इजरायलबाट ल्याउनुपर्ने इन्जिनको लागि भुक्तानी गर्न नसक्ने बताएपछि वैकल्पिक नेतृत्व खोजिएको हो। ‘आवश्यक भुक्तानी, इन्जिन समस्या, लिज विवाद, अहिले निर्णय गर्नै पर्ने काम तुरुन्त अघि बढाउने प्रतिबद्धता जनाउनु भएपछि अमृतमान श्रेष्ठलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो,’ स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij