२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महासंघ र नेपाल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

महासंघ र नेपाल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

1.1K
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययनलगायत विषयमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरे ।

पाँच वर्षसम्म कायम रहने सो समझदारी पत्रमा दुवै पक्षले पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थीको इन्टर्नशिप तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयहरू समावेश गरिएको छ ।

यस अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा यो समझदारीले देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए ।

“उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । आउने दिनमा पनि यस्तो सहकार्यका लागि हामी सकारात्मक छौँ,” उनले भने ।

विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले महासंघसँग भएको समझदारीले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

“हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमात्र नभई व्यवहारिक सिप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो,” डा. लोहनीले भने ।

यस्तै, विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सिपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै त्यसको लागि महासंघसँगको सहकार्य सहयोगी हुने बताए ।

यस्तै, विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यले पुराना विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बदलिएको समाजको आवश्यकता पूरा गर्न नसकेको अवस्थामा समाज र श्रम बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको बताए ।

गत जेठ महिनामा महासंघ र विश्वविद्यालयबीच विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सिप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij